काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको ठुलो चाडको रूपमा रहेको बकर इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । उहाँले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरुमा सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठुलो चाडको रूपमा रहेको बकर इद एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गर्नुभयो । उहाँद्वारा जारी सन्देशमा भनिएको छ- “नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।”
“यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

























