काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले विश्व वातावरण दिवस (५ जुन) २०२२ को अवसरमा राष्ट्रपति भवन परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोप्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँले हरेक वर्ष विश्व वातावरण दिवसका दिन राष्ट्रपति कार्यालय परिसरभित्र वृक्षारोपण गर्दै आउनुभएको छ ।

५ जुन अर्थात् विश्व वातावरण दिवस । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा वन्ली वन अर्थ नाराका साथ विश्वव्यापी उत्सव बन्यो ।
यो संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रमअन्तर्गत सञ्चालित संसारमा मनाइने सबैभन्दा ठूलो वार्षिक कार्यक्रम हो, जसले मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गर्ने कार्य गर्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।




















