ढाका । बंगलादेशको एक डिपोमा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी कैयौँ व्यक्ति घाइते भएका छन् ।
आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।
आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । आगलागीको कारण हालसम्म खुलिसकेको छैन । स्थानीय सञ्चार माध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन् ।
चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ । (एजेन्सी)
























