काठमाडौं । एउटा पुरानो तर अत्यन्तै दुःखदायी घटना हालै सार्वजनिक भएको छ । बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत २०७१ सालमा भएको एक प्रतिपर्धात्मक कार्यक्रममा आफूलाई बलात्कार भएको बताए पछि यो घटनाले सामाजिक सञ्जालमा दोषीलाई कडा कारवाही गर्न माग उठिरहेको छ भने सडकमा प्रदर्शन समेत शुरु भएको छ ।
उक्त घटना सार्वजनिक भएपछि दोषीलाई कारवाहीको माग चौतर्फी रुपमा उठिरहेको छ । बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्रीको निवास नजिकै प्रदर्शन गरेका छन् ।
पीडितले नामनै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकाले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनु पर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावाद लगाएतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी युवाहरुले घटनाको छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
बलात्कार तथा यौन हिंसामा परेको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्याद हटाउनुपर्ने र पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।
























