काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै अनुमोदन गरिएको उनले बताएका छन् । उनीहरुसँगै सिफारिस भएका अन्यको भने बुधबार सुनुवाइ हुने समिति सभापति कर्णले जानकारी दिएका छन् । बाँकी रहेका एक जनामा गम्भीर प्रकृतिको उजुरी परेको उनले बताएका छन् । तर कसका बारेमा भन्ने खुलाएनन् ।
बैठकले समितिमा परेका उजुरी सन्दर्भमा अध्ययन गर्न तीन जनाको कार्यदल गठन गरिएको र दुई दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सभापति कर्णले जानकारी दिएका छन् । समितिको बैठक बुधबार बिहान पुन बोलाइएको छ ।



















