काठमाडौं । भारत र चीनमा कोरोना भाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।
भारत र चीनमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।
कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बिहीबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् ।
जारी विज्ञप्ति
कोभिड–१९ संक्रमणको जोखिमपूर्ण अवस्थाबाट हामी गुज्रिरहेको सर्वविदितै छ। संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै छ। कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यसविरुद्दको खोप अभियान संचालन गरिरहेको छ। कोभिड–१९ को संक्रमणदर भारतलगायतका छिमेकी राष्ट्रहरूमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वन्धित सवैमा हार्दिक अनुरोध गर्दछ। साथै कोभिड–१९ विरुद्दको पूर्ण मात्रा खोप लगाउनुहुने, खोप लगाउन प्रेरित गर्नुहुने र जारी खोप अभियानमा निरन्तर साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै खोप लगाउन बकी सवैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्दको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पुरा भए पश्चात बुस्टर मात्रा खोप लगाउनु हुन अनुरोध गर्दछौं ।




















