काठमाडौँ । रुस–युक्रेनबिच युद्धको आशंका तिव्र हुँदै गएको परिस्थितिमा संयुक्त राष्ट्रसंघलाई युद्धको कुनै पनि संभावनालाई टार्न/खारेज गर्न अझ विशेष पहलका लागि आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
२०७८ फागुन ५ गते नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोकअगाडि गरिएको प्रदर्शनमा शान्तिवादीहरुले युद्ध टार्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदासर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शन पश्चात् रुस–युक्रेनबिच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि संभावनालाई टार्न/खारेज गर्नका लागि संयुक्त राष्ट्रसंघले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङदेन, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाण्डौ शाखा पूर्व सभापति ईश्वर पुडासैनी लगायत दुई दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।






















