काठमाडौं । सरस्वती पूजाको दिन हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्र प्रमुखलाई वसन्त श्रवण गराउने प्रचलन छ । यो प्रचलन प्रताप मल्लको पालादेखि नै चलिआएको बताइन्छ ।
विगतमा राजाबाट वसन्त श्रवण हुने गरे पनि गणतन्त्र आएपछि भने यो कार्यक्रममा राष्ट्रपति सहभागी हुने प्रचलन रहेको छ । वसन्त श्रवणको बेला राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख पनि सहभागी हुने प्रचलन रहिआएको छ ।
आज बिहान १०ः२३ मा वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डामा कार्यरत पुरोहित देवराज अर्यालका अनुसार १२औं शताब्दीमा बंगालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई आजको दिन हनुमानढोका दरबारमा राष्ट्र प्रमुखलाई सुनाउने प्रचलन रहेको छ ।




















