काठमाडौं । कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
आइतबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न केही समयका लागि यसमा रोक लगाइएको बताए ।
धार्मिकस्थलमा भने जनस्वास्थ्यको मापदण्ड पालना गरी नित्यकर्म धार्मिक पूजा गर्न पाउने, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरी सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला नहुने गरी सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘दुई देशको बीचमा रहेको ऐतिहासिक सम्बन्धलाई मनन गरेर कूटनीतिक पहल अगाडि बढाउन सरकार तयार छ,’ उनले भने, ‘कूटनीतिक माध्यमबाट नै सबै काम अघि बढाउनुपर्छ ।’
के गर्न पाइन्छ के पाइँदैन ? यस्ता छन्, सरकारका आदेशहरु
१. सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ मसान्तसम्म सञ्चालन नगर्ने ।
२. गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने । साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ ७ गतेपश्चात् त्यस्तो कार्यक्रममा खोप पूरा मात्रा लगाएका व्यक्तिहरुमात्र उपस्थित हुने गरी गर्ने व्यवस्था मिलाउने ।
३. सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थक्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ १५ सम्म सञ्चालन नगर्ने ।
४. विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई सञ्चालन गर्ने ।
५. विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
६. मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने ।
७. सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने । कुनै पनि सामान अनावश्यक रुपमा छुन नहुने । दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको दूरी कायम गर्ने । मास्क अनिवार्य गर्ने । पटकपटक साबुन पानीले हात धुने र स्यानिटाइज गर्ने गरी सञ्चालन गर्ने । जनस्वास्थ्यसँग सम्बन्धित मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकहरुको हुने ।
८. पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने ।
९. रंगशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने । उपस्थित दर्शकहरुमध्ये आयोजकको खर्चमा एक तिहाइ दर्शकलाई र्यान्डम छनौटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने । २०७८ माघ ७ गतेपश्चात त्यस्तो खेलकुद कार्यक्रम खोपको मात्रा पूरा गरेका व्यक्तिहरुलाई मात्र खोपकार्डका आधारमा रंगशालामा प्रवेश गर्न दिने ।
१०. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने ।



















