काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा बढेको छ । स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्मार्ट लकडाउन लागू गरेको छ ।
मंगलबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।
उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्य राति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनले आदेश जारी गरेको छ ।
त्यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ ।
त्यसैगरी सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागू गरिएको छ । माघ १५ सम्म विद्यालय बन्द रहनेछन् ।
पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।
























