काठमाडौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वरा संचालित संचार केन्द्र नेपालको हलमा आयोजित ‘प्राबिधिक शिक्षाको अवस्था र यसको बिकासमा सञ्चारकर्मीको भूमिका’ विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले समेत काम गर्दा विभिन्न समस्या उत्पन्न भएको बताए । पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुनुपर्ने वताउँदै उनले आचारसंहिताको पालना हुन नसकेको बताएका छन् ।
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताउँदै भने –‘हाइड्रो क्षेत्रमा बर्षेनी खरबौंको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात मजदुरीको काममात्र पाउँछन् ।’ नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै दक्ष जनशक्ति मगाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
सिटिईभिटीले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेको भएपनि त्यो जनशक्ति नेपालका लागि पर्याप्त नभएकाले थप दक्ष जनशक्ति उत्पादनमा सिटिइभिटिले ध्यान दिनुपर्ने उनले बताए । ‘गाउँ गाउँमा समेत सिटिईभिटीले उत्पादन गरेको जनशक्ति परिचालन भईरहेको वताउँदै अध्यक्ष बस्नेतले यसका राम्रा÷नराम्रा पक्षलाई बाहिर ल्याउनु पत्रकारिताको मूल धर्म भएको बताए ।
अध्यक्ष बस्नेतले पत्रकारहरु पनि सिपयुक्त बनेर स्वच्छ र मर्यादित पत्रकारिता गर्न आग्रह गर्दै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताबारे देशव्यापी जागरण अभियान गरिरहेको जानकारी गराए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराए । सिटिईभिटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरुको विदेश पलायन रोक्ने लक्ष लिएको उनले बताए ।
कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताए । जुन देश विकसित देशको रुपमा कहलिएको छ, ती देशहरुले प्राविधिक क्षेत्रमा उल्लेख्य फड्को मारेको वताउँदै महानिर्देशक हमालले भने ‘जुन देशले प्राविधिक क्षेत्रमा विकास गर्दछ ती देशहरु विकसित र समृद्धमा जोड दिन्छ । अमेरिका, चीन, जापान, भारत बिकसित राष्ट्रको रुपमा कहिलिनु पनि त्यसैको उपज हो ।’
महानिर्देशक हमालले सञ्चारकर्मीहरुमा प्राधिक ज्ञान र दक्षता प्रर्याप्त नहुँदा यदाकदा जनतामा भ्रामक सन्देशहरु पनि प्रवाह भइरहेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीहरुले समेत प्राविधिक ज्ञान र दक्षता हाँसिल गर्न आवश्यक रहेको बताए ।
पछिल्लो समय पत्रकारिता क्षेत्र राजनीतिभित्र मात्र फन्को मारिरहेको बताउँदै अब पत्रकारहरुले आफ्ना समाचार र लेखमा प्राविधिक शिक्षालाई महत्वमा राख्नुपर्नेमा महानिर्देशक हमालले जोड दिए ।

पत्रकार मुलुककै तेस्रो आँखा भएका कारण प्राविधिक क्षेत्रमा भएका तमाम समस्याहरुलाई बाहिर ल्याउन उनले आग्रह गरे ।
उनले सञ्चारकर्मीहरुलाई सचेत बन्दै जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सुझाव पनि दिएका छन् ।
कार्यक्रममा फोरम फर हेल्थ टेक्निकलका अध्यक्ष शैलेन्द्र मोहन झाले नेपालमा उत्पादन भएका स्वास्थ्य जनशक्तिको बेलायत, क्यानडालगायतका विकसित राष्ट्रहरुमा समेत माग भईरहेपनि नेपालमा माग अनुसारका जनशक्ति उत्पादन गर्न नसकेको बताए ।
हाम्रै देशमा जनशक्तिको अभाव हुँदा विदेशमा माग भएअनुसारको जनशक्ति सप्लाई गर्न नसकेको उनले जानकारी गराए ।
कार्यक्रममा बोल्दै झाले कोरोना महामारीको समयमा आइसियु सञ्चालन गर्न सक्ने जनशक्तिको अभाव हुँदा ५ हजार मानिसको मृत्यु भएको पनि बताए ।
निजी शिक्षालय महासंघका अध्यक्ष भुवन जोशीले प्रविधिसँग जोडिएको शिक्षा भएपनि राज्यले त्यसलाई डकुमेन्टेशन नगरेको बताए ।
नेपालमा शिक्षा प्रणाली व्यावहारिक नभएकाले गर्दा बेरोजगारको समस्या बढ्दै गईरहेको बताउँदै जोशीले भने – ‘नेपालको शिक्षा प्रणाली यस्तो छ कि जुन शिक्षा आर्जन गरेपछि न आफैँ केही गरेर खान सक्छ, न त कतै काम लाग्छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा तराई विकास तथा सञ्चार केन्द्र नेपालको अध्यक्ष अध्यक्ष गोविन्द प्रसाद चौलागाईको सभापतिमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट जिल्ला सभापति प्रेमचन्द्र झाले नेपालमा उत्पादन भएका जनशक्तिले नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न सञ्चार क्षेत्रमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।























