अन्टानारिभो । अफ्रिकी देश मेडागास्करको तटीय क्षेत्रमा पानीजहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । यहाँका अधिकारीहरूले बिहीबार २१ शव निकालेपछि मृतकको संख्या ८५ पुगेको बताएका छन् । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुंगा (पानीजहाज) मा एक सय ३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।
यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना–इभोंगाेकोतर्फ लगभग सय किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ‘प्राविधिक समस्या’ भएको देखाएको छ । (रासस/एएफपी)
























