न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।
न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको महामारी बढ्दै गएको र कोरोना भाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उहाँले स्पष्ट पार्नुभएको छ ।
‘पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो’, गभर्नरले भन्नुभएको छ ।
कोरोना भाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उहाँको भनाइ छ ।
अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।
शुक्रबार बेलुका निर्देशन जारी गर्दै उहाँले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिनुभयो । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उहाँको भनाइ छ ।
दक्षिण अफ्रिकामा नयाँ कोरोना भाइरसको रुपमा ओमिक्रोन कोरोना भाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।
न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ ।
त्यसैगरी बेलायत, क्यानडालगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।
(रासस/एएनआई)
























