काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले विश्व नै सङ्कटतर्फ धकेलिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उहाँले यस्तो चिन्ता प्रकट गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताउनुहुँदै भन्नुभयो, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ । जलवायु परिवर्तनका कारण सिर्जित समस्याको असर हामीले भोगिरहेका छौँ । विश्वको जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ।”
उहाँले काठमाडौँ उपत्यकामा इँटाभट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढेको भन्दै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युत्को प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने बताउनुभयो । “वायु प्रदूषणको असर कम गर्न विद्यमान यातायात व्यवस्थालाई विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा मात्र विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्न सकिए यहाँका वातावरण स्वच्छ हुन्छ, पेट्रोलियम पदार्थको आयातका कारण थपिएको बोझ कम हुन्छ, यसबाट वायुप्रदूषण कम हुने मात्र नभई व्यापार घाटा सन्तुलनमा ल्याउन पनि बल पुग्छ ।”
राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताउनुभयो । नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिदैं उहाँले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको बताउनुभयो ।
काठमाडौँ विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रुपमासमेत चिनिएको भए पनि धुवाँधुलोका कारणले गर्दा प्रदूषण फैलिएर यहाँको जनस्वास्थ्यमा गम्भीर क्षति पु¥याइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसबाट बच्नका लागि पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर रोक्न अनूकलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
“प्राकृतिक सम्पदा र स्रोतले भरिपूर्ण देश भएर पनि हामीले त्यसलाई राष्ट्रको सम्मुन्नति र जनजीवनको समृद्धिका लागि आवश्यकताअनुसार प्रयोग गर्न नसक्दा चुलिएको व्यापार घाटाको अवस्थाले गर्दा हामी परनिर्भरतातर्फ गइरहेको छौँ”, उहाँले भन्नुभयो, “मुलुकको विकासका लागि आत्मनिर्भरतामा ध्यान दिनुपर्छ, आत्मनिर्भर हुनसक्ने हामीसँग पर्याप्तमात्रामा स्रोत र साधन छन् ।”
राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिमा स्थानीय साधन स्रोतको उचित प्रयोग गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भरतामार्फत परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने बताउनुभयो । “परनिर्भरतालाई कम गर्दै लैजान हामीसँग भएका स्रोतसाधनको प्रयोग गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “मुलुकमा विद्युत् उत्पादन बढिरहेको छ, तर हामीले पर्याप्त प्रयोग गर्न सकेका छैनौँ ।” विद्युत्को आन्तरिक खपत बढाउन पर्याप्त पूर्वाधार नरहेको भन्दै उहाँले स्वदेशमै उत्पादित विद्युतको प्रयोग गरेर वायु प्रदूषण र व्यापार घाटा कम गराउन सकिने बताउनुभयो ।




















