काठमाडौं । आजबाट देशभर राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै जनगणना सुरु भएको हो ।
राष्ट्रपतिको जनगणना गर्न तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेका थिए । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयंले जवाफ दिनुभएको थियो ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बिहान ९ बजे गणक टोली शीतलनिबास पुगेर राष्ट्रपति भण्डारीको परिवारको गणना गरेर जनगणना कार्य शुरु गरेको हो । जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ ।
राष्ट्रपतिपछि प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिँदै छ । साँझ ५ बजे एमाले अध्यक्ष ओलीको जनगणना लिने कार्यक्रम छ । साथै देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् ।
नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ । तर, यो पटक कोरोनाका कारण ढिलोगरी जनगणना भइरहेको हो । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको पहिलो जनगणनाको मूल नारा– ‘मेरो गणना, मेरो सहभागिता’ तय भएको छ । मूल गणना ९ मंसिरमा सम्पन्न हुनेछ ।
०७९ सम्ममा मुख्य प्रतिवेदन प्रकाशित गर्ने र ०८० भित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन पनि प्रकाशित गरिने विभागले जानकारी दिएको छ ।
देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदै छन् ।
जनगणना अघिल्लो जनगणनाभन्दा निकै खर्चिलो हुने भएको छ । ११औँ जनगणना करिब डेढ अर्ब खर्च भएको थियो । तर, यस पटक ४ अर्ब खर्च हुने अनुमान गरिएको छ । खर्च बढ्ने पहिलो कारण यस पटक पूरा तलब दिएर गणकलाई खटाइएको छ ।
११औँ सम्म शिक्षकलाई गणकका रूपमा खटाइने गरिन्थ्यो । शिक्षकलाई आधा मात्रै भत्ता खुवाइने गरिन्थ्यो । तर, यस पटक तथ्याङ्क विभागले कक्षा १२ पास गरी बेरोजगार रहेका युवा, युवायुवतीलाई पुरा तलब दिएर गणकका रूपमा परिचालन गरेको छ ।
जसका कारण यस पटकको जनगणना धेरै खर्चिलो हुने छ । केन्द्रीय तथ्याङ्क विभागका उपसचिव हेमराज रेग्मीका अनुसार पहिलेको भन्दा यस पटक कर्मचारीको तलब वृद्धि भएको छ भने गणकलाई पुरा भत्ता दिइने छ । जस कारण यस पटक गणकमा मात्रै सबैभन्दा बढी खर्च हुनेछ । तथ्याङ्क विभागले यसपटक जनगणनाका लागि ४० हजार गणक देशभरि परिचालन गरेको छ ।
यस पटकको जनगणनामा ८० वटा प्रश्नावली रहेका छन् । लामो प्रश्नावली भएका कारण गणकलाई तथ्याङ्क संकलन गर्न धेरै समय लाग्ने छ ।
यसले पनि खर्च बढाएको उपसचिव रेग्मीले बताए । ‘विकसित देशमा सिस्टममै धेरै कुराको तथ्याङ्क आउने गरेको छ,’ उपसचिव रेग्मीले भने,‘तर नेपालमा धेरै कुरा गणनाबाट नै संकलन गरेर तथ्याङ्क संकलन गर्नुपर्ने भएका कारण प्रश्नावली बढी भएका छन्, बिस्तारै प्रश्नावली संख्या घटाइने छ ।’




















