फ्रिटाउन । सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा इन्धन बोकेको ट्यांकर अर्को लरीसँग ठोक्किएपछि भएको बिस्फोटमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । बिस्फोटमा दर्जनौं मानिस घाइते भएका छन् । लरीसँग ठोकिएपछि टयांकरको इन्धन पोखिएको थियो । त्यसपछि लागेको आगोले वरपरका मानिस र सवारीसाधनमा सल्किएको थियो ।
ट्यांकरनजिक मानिसहरुका डढेका शव छरपस्ट देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्यांकर ठोकिएपछि भएको आगोलागीबाट ठूलो मानवीय क्षति भएकोप्रति राष्ट्रपति जुलियस मादा बायोले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
दुर्घटनापछि जलेर १०० भन्दा बढी मानिसको ज्यान गएको फ्रिटाउनका मेयर वाइभोन सवेरले बताउनुभएको छ । फ्रिटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जनाको उपचार भइरहेको बताइएको छ ।
























