काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि आज ढोरपाटन जानुहुँदैछ ।
राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी आज दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो ।
“अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ आज नै फर्कनुहुन्छ”, प्रजिअ कार्कीले बताउनुभयो ।
राष्ट्रपति आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी शुक्रवार नै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।
सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ ।




















