Margadarsan


  • बेलायतमा कोरोना संक्रमण दर तीव्रगतिमा उकालो लाग्दै 

    दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन

    मार्गदर्शन ४ कार्तिक २०७८, बिहीबार

    लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीव्र रुपमा बढेकाे छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ ।

    सरकारले दैनिक एक लाखभन्दा बढी कोरोना संक्रमित पुग्न सक्ने अनुमान गरेको छ  । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताउनुभयो ।

    विगत एक सातामा दैनिक संक्रमित संख्या ४० हजारभन्दा माथि रहँदै आएको बेलायतमा पछिल्लो २४ घन्टामा ४९ हजार १३९ जना संक्रमित थपिएको सरकारी अधिकारीले  जनाएका छन् ।

    कोराना संक्रमण जाडो महिनामा तीब्र गतिमा हुने अनुमान गर्दै सरकारले घरका झ्याल खुला राख्न र भीडभाडमा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।

    बेलायतमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार नाघेको छ । कोरोना संक्रमणको दोस्रो लहर आउँदा गत जनवरी २० मा एकै दिन एक हजार ८२० जनाको मृत्यु भएको थियो ।

    ९ करोडमा संक्रमण, र ४ करोड ५३ लाखले लिए खोप 

    बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९४ लाख २२ हजार ७५३ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख ७७ हजार ४११ जना अर्थात् ७८.९ प्रतिशतले खोपको दुबै डोज लगाइसकेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । (एजेन्सी)

    फेसबुक प्रतिक्रिया