काठमाडौं । यातायात व्यवसायीले भाडा नबढाएको भन्दै काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधन बन्द गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा व्यवसायीले काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीका साधन बन्द गरेका हुन् ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ सम्बद्ध सवारी भने फाटफुट रुपमा चलिरहेका छन् । सडकमा सार्वजनिक सवारी पातलो मात्रामा चल्दा यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।
महासंघका महासचिव केशव नेपालले बाग्मती प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आन्दोलनमा जानुपरेको बताउनुभयो । उहाँका अनुसार सोमबार सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको हो ।
संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन । कानुनअनुसर छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहरुलाई छ ।
आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको नेपाल बताउनुहुन्छ ।
‘हामीले स्वघोषणा गरेर बढेको भाडा उठाउन थाल्यौं, तर धरपकड भयो, हामीलाई प्रहरकिाो लगेर थुनियो,’ उनले भने,’अहिले सयभन्दा बढी बसहरु प्रहरीको नियन्त्रणमा छ, त्यसैले हामीले सेवा बन्द गरेका छौं ।’ उहाँका अनुसार चक्रपथमा चल्ने धेरैजसो कम्पनीले सो बन्द गरेका छन् । प्रदशे सरकारले भाडा बढाउन चासो नदिए अब चोक-चोकमा सवारी तेस्र्याएर आन्दोलन गरिने महासंघले चेतावनी दिएको छ ।
प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ । यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।