काठमाडौँ । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित हुनुभएको छ । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँ चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुनुहुन्छ ।
यस्तै, दुई उपसभापतिमा राजेन्द्रविक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ, दुई सचिवमा नविन महर्जन र राजेन्द्र महर्जन, दुई सहसचिवमा भुवन श्रेष्ठ र जीवनकुमारी गिरी, दुई कोषाध्यक्षमा विनु बस्नेत र मन्जयप्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
चन्द्रागिरि नगरपालिका काठमाडौंभित्रकै महानगरपालिका पछिको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् । काठमाडौंभित्र सर्वसम्मत नेतृत्व छनोट हुने चन्द्रागिरि नगरपालिका पहिलो हो । यसअघि काठमाडौँ महानगरपालिकासहित आठ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।