काठमाडौँ । आज विश्व बसोबास दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवर्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न विश्व बसोबास दिवस सुरु गरिएको थियो ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट) को आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको हो ।

‘तीव्र शहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व’ नाराका साथ यस वर्षको विश्व बसोबास दिवस मनाउन लागिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस वर्षको नाराले शहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो शहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखी न्यून कार्बन उत्सर्जन गर्नेगरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ । वातावरणमैत्री शहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विभागको भनाइ छ ।

विश्व बैंकको तथ्याङ्कअनुसार सन् १९९० देखि हालसम्म शहरी जनसङ्ख्या चारगुणाले बढेर ४।२ अर्बभन्दा धेरै पुगेको छ । शहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढी विश्व तापमान एक तिहाइभन्दा धेरै भएको विभागले जनाएको छ ।

विश्वका सबै देशले बजेटको ठूलो हिस्सा शहरीकरणमा खर्च गर्दै शहरी व्यवस्थापनलाई मुख्य एजेण्डा बनाएका छन् । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्टसिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ ।

कार्यक्रममा विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, इञ्जिनीयरिङ अध्ययन संस्थान, ललितपुर महानगरपालिका, पूर्वसचिव किशोर थापालगायतले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याविट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको विभागले जनाएको छ ।