बरात । मोरक्कोका नागरिकलाई कोरोना भाइरसविरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तेस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो ।
मोरक्कोको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विज्ञ तथा सरोकारवालाहरूको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो । यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् । उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।
सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितहरूको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । तीमध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् । (रासस/सिन्ह्वा)
























