काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरू ज्ञान सीप र अनुभवका पुञ्ज भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकहरुको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्ने बताउनुभयो ।
३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन् उतार–चढाव‚ सफलता–असफलता र सङ्घर्षपूर्ण भोगाइबाट अनुभवप्राप्त मान्यवर हुनुहुन्छ भन्नुभएको छ ।
राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले ज्येष्ठ नागरिकहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने बताउनुभयो ।
व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै गएको बताउनुहुँदै राष्ट्रपति भण्डारीले आफ्नो जीवनको ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि योगदान गर्ने ज्येष्ठ नागरिकको जीविकोपार्जन र रहनसहनलाई मानवोचित स्तरमा सुनिश्चित गर्नका लागि नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा‚ सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था गरेको बताउनुहुँदै यसको प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न सम्बद्ध सबैमा आह्वान समेत गर्नुभएको छ ।
“विगत करिब दुई वर्षदेखि सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाएको कोभिड–१९ महामारीको पीडाबाट नेपाल पनि अछुतो रहन सकेन । महामारीविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको छ । यद्यपि महामारीबाट पूर्ण मुक्ति नपाएसम्म जनस्वास्थ्यका मापदण्डहरू पालना गरिरहन सम्बद्ध सबैलाई आग्रह गर्दछु,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक अपील समेत गर्नुभएको छ ।




















