इक्वेडर । इक्वेडरको एक कारागारमा झडप भएको छ । उक्त झडपमा परी कम्तीमा ३० जना कैदीको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।
यसअघि उक्त झडपमा परी २४ जनाको मृत्यु तथा ४२ जना घाइते भएको जनाइएको थियो । मंगलबार भएको उक्त झडपमा परेर मृत्यु हुनेको संख्या बुधबार ३० पुगेको र घाइतेहरूको संख्या ५२ पुगेको बताइएको छ ।
इक्वेडरको कारागारमा राखिएका कैदीहरूबीच भएको झडपमा परेर उनीहरू मारिएका हुन् । उनीहरू आफैँबीच भएको झडपका क्रममा धेरै जना घाइते भएको बताइएको छ ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार इक्वेडरको समुन्द्री तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।
त्यहाँस्थित राष्ट्रिय प्रहरीले ती कैदीहरूबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ । इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ । (रासस)
























