काठमाडौं । काठमाडौंको कपनबाट अपरहण भएको भनिएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । उनी भारतको बिहारस्थित आफ्नै हजुरबुबाको घरमा भेटिएका हुन् ।

भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

विनोदकै साथी शंकर दासले बालकलाई बिहार लगेको खुलेको हो। भारतीय प्रहरीसँग समन्वय गरी उनको खोजी गरिएको थियो। एक उच्च प्रहरी अधिकारीका अनुसार,“पियुसले दासलाई माया गर्दा रहेछन् । दासले मदिरा पिएको बेला पियुसलाई आफैसँग बिहार लगेको देखिन्छ । बिहारमा पियुसका बाजे बस्दै आएका छन् । त्यही पियुसलाई छाडेका छन् । यस्तोमा अपरहण नै हो भनेर भन्न सकिएन । उनलाई नेपाल ल्याइँदैछ ।”
बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले जानकारी दिनुभयो । यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने जनाइएको छ ।