लण्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।
प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती सङ्क्रमतिहरुसँगै यहाँ अहिलेसम्म सङक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार आजसम्म सङ्क्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी सङ्क्रमणबाट भएको मृत्युको संख्या १ लाख ३६ हजार १६८ पुगेको छ ।
त्यसैगरी गएको २४ घन्टामा मात्र ५८ जनाको सङ्क्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था समयमा सामान्यजस्तो देखिए पनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ । केही समयअघि यहाँ भाइरसका सङ्क्रमितहरु घटेपछि जनजीवनलाई पनि सामान्य बनाइएको भए पनि पछिल्लो हप्ताहरुमा महामारीको सङ्क्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता हरेक दिन ३० हजारजनाभन्दा पनि बढी सङ्क्रमित थपिने गरेका बताइएको छ । (रासस)
























