काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको नाम सिफारिस गरेको छ । विभागले आइतबार इजरायलमा ‘केयर गिभर’मा जान चाहनेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।
भाषा परीक्षा उतीर्ण गरी अन्तर्वार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथ्योरिटी (पीआईबीए) लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार विभागले सिफारिस गरेको सूचीबाट पीआईबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने छन् ।
यसका लागि अहिले छनोट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका थिए । तीमध्ये १८६ जना उचाइ र तौलमा फालिएका थिए ।
भदौ २८ गते लिखित परीक्षाको नतिजा सार्वजनिक भएको थियो । जसमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष उत्तिर्ण भएका थिए । उचाइ र तौल परीक्षणमा उत्तीर्ण भएकाहरुको शनिबारसम्ममा अन्तार्वार्ता सकिएको हो । अन्तर्वार्तापछि १६ सय जना श्रमिक छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाइएको हो ।
अब इजरायलले यही सूचिबाट एक हजार जना श्रमिक केयर गिभरको लागि लैजाने छ । त्यहाँका संस्थाहरुमा उनीहरुले काम पाउनेछन् । इजरायलले अब चिट्ठा प्रक्रियाबाट श्रमिक छान्नेछ । इजरायल जानका लागि लाख ६५ हजार रुपैयाँ खर्च हुन्छ । उनीहरुले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ । त्यहाँका नागरिकसरह नै नेपाली श्रमिकले पनि सुविधा पाउनेछन् । उनीहरुले झण्डै दुई लाख रुपैयाँ मासिक कमाउनेछन् ।




















