एजेन्सी । अफगानिस्तानको हेरात सहरमा तालिबानले चार सन्दिग्ध अपहरणकारीका शवलाई सार्वजनिक स्थानमा झुन्ड्याइदिएको विवरण प्राप्त भएको छ ।
तालिबानका एक कुख्यात अधिकारीले मृत्युदण्ड र अङ्गच्छेनजस्ता कठोर दण्ड फेरि दिन थालिने चेतावनी दिएको भोलिपल्ट उक्त घटना भएको हो ।
एक व्यापारी र उनका छोरालाई अपहरण गरेको आरोप लागेका ती चारजनाको एउटा भिडन्तमा मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।
समाचारसंस्था एपीलाई प्रत्यक्षदर्शीले हेरातको केन्द्रमा एउटा क्रेनमा शव झुन्ड्याइएको आफूले देखेको बताएका छन् ।
त्यहाँ पसल सञ्चालन गर्ने वजिर अहमद सिद्दिकीले एपीलाई बताएअनुसार उक्त स्थानमा चारवटा शव ल्याइएको र त्यहाँ एउटा झुन्ड्याइएको थियो भने बाँकी तीन वटालाई सहरका अन्य स्थानमा देखाउन लगिएको थियो ।
हेरातका सहायक गभर्नर मौलवी शैर अहमद एमरलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले तालिबान लडाकुहरूले अपहरणको आरोप लागेका ती मानिसलाई फेला पारेको र गोली हानाहानमा उनीहरूको मृत्यु भएको जनाएका छन् ।
“हामीले अरू अपहरणकारीलाई चेतावनी दिन तिनका शवलाई हेरातका चोकहरूमा झुन्ड्यायौँ,” उनले भनेका छन् ।
ती मानिसको मृत्यु भएको परिस्थितिमा बीबीसीले स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन । (बीबीसी)
























