अमेरिका । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गर्नुभएको छ ।
वार्ताका अवसरमा दुई नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहो-याउनुभएको छ । प्रधानमन्त्री सुगाले हालै पदभार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीसँग यो पहिलो व्यक्तिगत भेटवार्ता हो । सो अवसरमा दुबै प्रधानमन्त्रीले मुम्बई-अहमदाबाद हाई स्पीड रेल परियोजनाको शुरुवात र समयमै यसको कार्यान्वयनका लागि आ-आफ्नो तर्फबाट प्रतिबद्धता जनाउनुभएको छ ।
दुई नेताबीचको बैठक क्वाड को पहिलो शिखर सम्मेलनको एक दिनअगाडि भएको हो । यो संयन्त्र अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीच चारपक्षीय सहयोगसँग सम्बन्धित छ । विदेश मन्त्रालयका अनुसार उहाँहरुबीच रक्षा उपकरण र प्रविधिको क्षेत्रसहित द्विपक्षीय सुरक्षा र रक्षा सहयोग बढाउनेबारे सहमति जुटेको छ ।
दुई प्रधानमन्त्रीबीचको पहिलो भेटवार्ता हार्दिकतापूर्ण रह्यो । सेप्टेम्बर २०२० पछि सुगाले जापानको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरिसकेपछि उहाँहरूबीच तीनपटक टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री मोदीले भारत-जापान विशेष रणनीतिक र ग्लोबल पार्टनरसिपमा पछिल्ला केही वर्षहरूमा भएको ठूलो प्रगतिका निम्ति प्रधानमन्त्री सुगालाई विशेष धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले कोभिड-१९ महामारीका बीच पनि सफलतापूर्वक टोकियो ओलम्पिकको आयोजना गरेकामा प्रधानमन्त्री सुगा र जापानलाई विशेष बधाइ समेत व्यक्त गर्नुभएको छ । सो अवसरमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको बढ्दो आर्थिक सम्लग्नताको स्वागत गर्नुभएको छ ।
उहाँहरुले यस बर्षको शुरुमा भारत, जापान र अष्ट्रेलिया बीच आपूर्ति शृङ्खला र लचकता पहल (एससीआरआई) को लचिलो, विविध र विश्वासिलो आपूर्ति संरचनालाई सक्षम पार्न गरिएको प्रयासको स्वागत गर्नुभएको छ । उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले निर्माण र क्षमता विकासका क्षेत्रमा काम गर्नका लागि दुई पक्षीय साझेदारीको संरचना निर्माणको लागि जोड दिनुभएको छ ।
जापानी प्रधानमन्त्री सुगाले भारतीय प्रधानमन्त्री मोदीलाई दिएको जानकारीअनुसार यस वर्षको शुरूमा हस्ताक्षर गरिएको निर्दिष्ट कुशल श्रमिक (एसएसडब्ल्यू) सम्झौतालाई सञ्चालन लागि जापानी पक्षले २०२२ को शुरुदेखि भारतमा सीप र भाषा परीक्षण कार्यक्रम सञ्चालन गर्ने छ ।
दुई प्रधानमन्त्रीबीच कोभिड-१९ महामारी र यसलाई सम्बोधन गर्ने प्रयासका बारेमा पनि छलफल केन्द्रित भएको छ । उहाँहरूले डिजिटल टेक्नोलोजीको बढ्दो महत्त्वलाई जोड दिदै यस विषयमा भारत-जापान डिजिटल पार्टनरशिप मा विशेष गरी स्टार्ट(अपमा भएको प्रगति को सकारात्मक मूल्यांकन पनि गर्नुभएको छ ।
त्यसैगरी दुई नेताबीच विभिन्न उदीयमान प्रविधिमा थप सहयोग बढाउनेबारे विचार आदान-प्रदान भएको छ । जलवायु परिवर्तनका मुद्दाहरू, हरित ऊर्जा संक्रमण र भारतको राष्ट्रिय हाइड्रोजन ऊर्जा मिसनसँग जापानी सहयोगको सम्भावनाका विषयमा पनि छलफल भएको छ ।
दुई नेताले भारत-जापान एक्ट इस्ट फोरमअन्तर्गत भारतको उत्तरपूर्वी क्षेत्रमा द्विपक्षीय विकास परियोजनाहरूमा भएको प्रगतिलाई स्वागत गर्दै यस्तो सहयोगलाई अझ बढाउने सम्भावनाहरूको समेत उल्लेख गर्नुभएको छ । (रासस/एएनआई)
























