काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोरीको प्रयास गर्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पक्राउ परेका छन् । उनले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास गरेका थिए ।
चोरीको प्रयास गरेको बेला सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताउनुभयो ।
‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, तर एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित छन् ।’
उहाँका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भन्नुभयो, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’
टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताउनुभयो । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताउनुभयो ।
पक्राउ परेका घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।