काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामो दूरीमा सञ्चालन हुने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरीमा सञ्चालन हुने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारीसाधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग राखेका थिए ।
भोलि (शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
उहाँले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि बताउनुभयो । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।
‘नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्, अहिले पनि दुई दिन जति गाडी आउन-जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलीसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छौँ,’ महासचिव सिटौलाले बताउनुभयो ।
खाल्डोहरु नपुर्दा दुर्घटना बढ्ने भन्दै उनले कसैले अवरोध नगरी सरासर आउने व्यवस्था हुनुपर्ने बताए । बाटो अवरुद्ध भएर गाडी आउन नसके त्यसको आफूहरु जवाफदेही नहुने सिटौलाले बताउनुभयो ।
‘अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेको छ, वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ, यो प हिामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभागमार्फत् भनेका छौँ,’ उहाँले भन्नुभयो ।
राजधानीका १४ स्थानमा नागरिक सहायता कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको बताउनुभयो । उहाँले अनलाइन प्रविधिमार्फत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने जानकारी दिनुभयो ।