काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको काठमाडौंको वडा अधिवेशन आज हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
सदस्यता विवादका कारण पूर्वनिर्धारित समय भदौ १८ मा वडा अधिवेशन हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर पठाइसकेकाले आज वडा अधिवेशन गर्न लागेको कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिनुभयो । काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् ।
महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वटा वडा रहेका छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि शुरु भएको थियो । करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्यहरु पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।