काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०९५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बरभन्दा बढी हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७८ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।




















