एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भन्नुभयो ।
बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नभएको छ । यस्तै अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उहाँले बताउनुभयो । अफगानिस्तानमा तालिबानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडेनको तीव्र आलोचना भएको छ ।
























