काठमाडौँ । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ ।
उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ । उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो ।
अफगानिस्तानमा जारी लडाइँका बीच तालिबानले बिहीबार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो। तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढङ्गको श्रृङ्खलाबद्ध कब्जा मानिएको थियो ।
यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका छन् ।
अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनः काबुलमा सैनिकहरू पठाउन लागेको बिबिसीले जनाएको छ ।
एक जना तालिबानका प्रवक्ताले कान्दाहार पूर्ण रूपमा जितिएको छ भन्ने घोषणा गरेका छन् तर त्यसलाई अहिलेसम्म पुष्टि गर्न सकिएको छैन। स्रोतहरूले दक्षिणी हेल्मन्ड प्रान्तको राजधानी लस्कर गाहलाई पनि तालिबानले नियन्त्रण गरेको बताएका छन् ।
यद्यपि त्यसको पनि अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन । तालिबानले अहिले देशको उत्तरी क्षेत्रमध्ये धेरै स्थानमा नियन्त्रण गरिसकेको छ । उसले हालसम्म देशको एक तिहाइ भू–भागमा आफ्नो नियन्त्रण कायम गरेको बताइएको छ । (बिबिसी)
























