काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार गर्नुपर्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा सचिव अर्यालले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएको हो ।
उहाँले आम जनताको जीवन पद्दतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइवर सुरक्षामा ध्यान दिन आवश्यक रहेको पनि बताउनुभयो ।
सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गर्नुभयो । उहाले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीमा जोड दिनुभयो ।
हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव अर्यालले बिहीबार आफ्नो पदभार सम्हाल्नुभएको हो ।



















