नयाँदिल्ली । गत फेब्रुअरी १ मा भएको सैनिक कूपछि शरण खोज्दै ८ हजार ४ सय ४६ जना म्यानमारी भारत आइपुगे पनि अधिकांशलाई फेरि स्वदेशमै फर्काइएको छ।
भारतको राज्यसभामा सोमबार सांसदहरूका प्रश्नको उत्तर दिँदै रक्षा राज्यमन्त्री अजय भट्टले म्यानमारबाट आएका ५ हजार ७ सय ९६ जनालाई उतै फर्काइएको बताउनुभयो । उहाँका अनुसार २ हजार ६ सय ९० जना अहिले पनि भारतमै छन् । तीमध्ये केही शरणार्थीको रूपमा रहेका छन् ।
म्यानमारमा गत माघ १९ गते सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको थियो । सेनाले सत्ता लिएपछि म्यानमारका केही सुरक्षाकर्मी नै जागिर छोडेर भारत पसेका थिए ।
उत्तरपूर्वी भारतीय राज्यहरू मिजोरम, मणिपूर र अरूणाञ्चलको सीमा म्यानमारसँग जोडिन्छ । (एजेन्सी)
























