काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको ३ वर्षे कार्यकाल मिति २०७८ भाद्र २४ गते पुरा हुनु भन्दा पहिला एक महिना घर विदा बस्ने प्रचलन अनुरुप आजबाट घर बिदा बस्नु भएको छ । उहाँले सम्हाली आउनु भएको प्रधान सेनापतिको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका बलाधिकृत रथी प्रभुराम शर्मालाई आज जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच बुझबुझारथ गर्नु भएको छ ।

नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, निमित्त रक्षा सचिवलगायत रथीबृन्द, अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रधान सेनापति महारथी थापाले नेपाली सेनाले बलाधिकृत रथी प्रभुराम शर्माको रुपमा एक अनुभवी र क्षमतावान नेतृत्व प्राप्त गर्न लागेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा नेपाली सेना थप पेशेवार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यसै गरी बलाधिकृत रथी शर्माले पनि नेतृत्व हस्तान्तरणको प्रकृयालाई अत्यन्तै व्यवस्थित र सहजिकरण गरिदिनु भएकोमा प्रधान सेनापतिमा आभार व्यक्त गर्दै सैनिक संगठनमा सामुहिक भावना नै सर्वोपरि रहेको र यसका लागि तालिमको महत्व रहेको चर्चा गर्दै विगतका उपलब्धिहरुलाई संस्थागत गर्दै सुधारका विषयहरुलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यस अघि नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी थापाले पद्धति र प्रणालीहरुको सुदृढीकरणमा सबैको योगदान हुनु पर्ने तथा नेपाली सेनाका सकल दर्जाले सिपाहीको विशिष्ट चरित्रलाई सदैव कायम राख्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
https://youtu.be/tGyHZ5YwLP0
उक्त कार्यक्रम पश्चात पूर्व प्रधान सेनापतिहरुद्वारा जंगी अड्डा परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो भने उक्त बुझबुझारथ कार्यक्रमको पूर्व सन्ध्यामा मिति २०७८ श्रावण २४ गते जंगी अड्डा परिसरमा रात्रीभोजको आयोजना समेत गरिएको थियो ।
साथै, प्रधान सेनापति महारथी थापाद्वारा आज मिति २०७८ श्रावण २५ गते वीरगति प्राप्त सकलदर्जाको सम्मानमा वीर स्मारक, छाउनी तथा श्री सैनिक मञ्च, टुंडिखेलमा श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको व्यहोरा जानकारी गराईन्छ ।





















