एजेन्सी । जन्म हुँदा संसारकै सबैभन्दा सानी एक शिशुलाई सिङ्गापुरमा १३ महिना सघन उपचार गरेर अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको छ ।
जन्मिँदा क्वेक यु सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर थियो । उनी २५ साता पनि नपुगी जन्मिएकी थिइन् ।
त्यसअघि सन् २०१८ मा अमेरिकामा जन्मिएकी एक शिशुको तौल २४५ ग्राम भएको अभिलेख यूनिभर्सिटी अफ आईअवाको टाइनीएस्ट बेबीज रेजिस्ट्रीमा छ ।
गर्भवती हुँदा यु सुआनककी आमाको रक्तचाप एकदमै बढेर “प्री-इक्ल्याप्सीआ” नामक समस्या उत्पन्न भएको थियो ।
त्यस्तो अवस्थामा महत्त्वपूर्ण अङ्गमा क्षति पुग्न सक्ने तथा आमा र बच्चा दुवैको ज्यान जान सक्ने हुन सक्थ्यो । त्यसैले शल्यक्रिया गरेर उनलाई गर्भबाट बाहिर निकालिएको थियो । यु सुआनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ।
सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल (एनयूएच) का अनुसार जन्मिएको बेला ती बालिका “जीवित रहने सम्भावना सीमित” रहेको जनाएको छ ।
“जन्मिँदा स्वास्थ्यसम्बन्धी जटिलता भएको विषम परिस्थितिमा पनि उनले धैर्य र विकासबाट आफूवरपरका मानिसलाई प्रेरणा दिइन्। त्यसले उनलाई असामान्य ‘कोभिड-१९’ शिशु बनाउँछ – उत्पातका बीचमा पनि आशाकी आशाको एक किरण,” अस्पतालले प्रकाशित गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्पतालमा हुँदा यु सुआनलाई विभिन्न किसिमका उपचार गरियो। उनको जीवन रक्षार्थ विभिन्न किसिमका उपकरणहरू प्रयोग भएका थिए ।
चिकित्सकहरूले आफ्नो सेवाबाट ती शिशुको स्वास्थ्य तथा विकासमा राम्रो सुधार आएको र अहिले अस्पतालबाट डिस्चार्च गर्न उपयुक्त भएको बताए । यु सुआनलाई अझै फोक्सोसम्बन्धी दीर्घ समस्या छ र उनलाई घरमा श्वासप्रश्वासका लागि सहयोग चाहिन्छ । तर एनयूएचका चिकित्कहरूका अनुसार उनी समयक्रममा बिस्तारै ठिक हुने अपेक्षा गरिएको छ ।
आफ्नो जेठो छोरो समय पुगेर जन्मिएकाले यु सुआनको जन्म र आकारका कारण आफू चकित भएको आमा वोङ मेई लिङले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन् ।
यु सुआानको उपचारका लागि क्राउडफन्डिङबाट दुई लाख ६६,८८४ सिङ्गापुर डलर सङ्कलन गरिएको थियो। त्यसैबाट उनका आमाबुवाले अस्पतालको लामो बसाइ र उपचार खर्च तिरेका हुन् । (बीबीसी)
























