काठमाडौं । नेकपा एमालेले कर्णालीका फ्लोर क्रस गर्ने ४ सांसदलाई गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गर्दै एमालेले गरेको कारबाहीलाई सदर गरेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्कासनको कारबाही गर्ने एमालेको निर्णय कानुनअनुसार नै देखिएको भन्दै यसअघि दिएको अन्तरिम आदेश खारेज गर्ने निर्णय गरेको छ ।
जेठ २७ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिने एमाले सांससलाई कारबाही गर्ने एमालेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यतिबेला सर्वोच्चले फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समिति मान्न नसकिने भन्दै कारबाहीलाई मान्यता दिन नमिल्ने आदेश दिएको थियो ।