काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवसरवादी भएको बताउनुभएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो विचार राख्नुभएको हो ।
मुख्यमन्त्री पोखरेलले प्रचण्डको अवसरवादी चरित्रका कारण देशमा राजनीतिक संकट आएको बताउनुभएको छ । उहाँले प्रचण्डमा भएको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाका कारण आज देशले राजनीतिक संकट बेहोर्नुपरेको बताउनुभयो । प्रचण्डले पूर्व एमालेभित्रको अन्तरविरोधमा खेलेर पार्टी फुटाएको उहाँको भनाइ थियो ।
नेता माधव नेपालप्रति संकेत गर्दै मुख्यमन्त्री पोखरेलले अनुशासनमा नबस्ने नेतालाई आगामी दिनमा कार्यकर्ताले दण्डित गर्ने तर्क गर्नुभयो । तत्कालीन पार्टी राजनीतिमा अहिले जस्तो अनुशासनहीन नेता भए आश्रितले कदापि नछाड्ने भन्दै पार्टीमा नेता आश्रितको अभाव भएको बताउनुभयो ।























