काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टीमा थप क्षति हुन नदिन पार्टी एकतालाई छिटो निष्कर्षमा पु–याउन जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भन्नुभयो, “पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ ।” उहाँले अगाडि भन्नुभयो “अव ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।” उहाँले १० बूँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अपरान्ह पार्टीको स्थायी समिति बैठक बोलाउनुभएको छ । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखिएको छ । नेपाल पक्षले पार्टीभित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने शर्त बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्य दलले सहमति जुटाएको १० बूँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने धारणा राख्दै आउनुभएको छ ।