काठमाडौं । प्रमुख प्रतिपक्षली दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता कम्युनिष्टविरोधी व्यक्तिलाई पार्टीमा ठाउँ नभएको बताउनुभएको छ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आज आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै माधव नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले माधव नेपालले आफ्नै पार्टी, मतदाता र देशलाई धोका दिएको बताउनुभयो । आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपालको कदम कम्युनिष्ट आन्दोलनविरुद्व भएको भन्दै उहाँले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनविरोधी देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ छैन । उहाँले थप्नुभयो, ‘फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । पार्टी हामी सबैले बनाएका हौँ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने,’ उहाँले भन्नुभयो, ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’
अध्यक्ष ओलीले बाटो बिराएका अरू भने पार्टीमा फर्किन सक्ने बताउनुभयो । ‘आउनुस् यो पार्टी हामी सबैजनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्रबाटै प्रतिक्रियावादीहरुसँग मिलेर जनताको सरकार ढालेको बताउनुभयो । उहाँले भन्नुभयो ‘नेकपा एमालेको सरकार ढाले, लगभग दुई तिहाइको पार्टी फुटाए, एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाए ।’
पार्टी एकताको र राष्ट्रियताको पक्षमा लाग्न उहाँले पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी एकता असफल नभएको भन्दै उहाँले प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेको बताउनुभयो ।
देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थी भएकाले सुशासन र जनताको पक्षमा काम गर्न नसक्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउने दाबी गर्नुभयो ।