काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्नु उचित नहुने बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय, थापाथलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महासचिव पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्दा पार्टीको कार्यदिशा अलमल पर्ने भएकाले पार्टीलाई सधैं अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभयो । उहाँले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्ने धारणा राख्नुभयो । दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि नेपाल पक्षले पार्टी एकतामा तदारुकता नदेखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेर काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै उहाँले भन्नुभयो, ‘सम्भवत आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने नै छ ।’
दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे महासचिव पोखरेलले पार्टीको विधानअनुसार हुनुपर्ने बताउनुभयो । ‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकतम लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकूल हुनुपर्छ’ उहाँले भन्नुभयो ।
दैनिक जसो अनेक शर्त आउने गरेको भन्दै उहाँले कुन शर्त के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताउनुभयो । ‘पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो, जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको पद्धतिभन्दा फरक ढंगले हुन सक्दैन’ महासचिव पोखरेलले भन्नुभयो ।