काठमाडौं । नेपाल शिक्षक महासङ्घको आव्हानमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म शिक्षकहरु अनसन बसे । विभिन्न ३४ बुँदे माग राख्दै आन्दोलन थालेको महासङ्घ आवद्ध शिक्षकहरुले देशभरका ७५३ स्थानिय तह, ७७ जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाइ, ७ प्रदेशका सामाजिक बिकास मन्त्रालय र माइतिघर मन्डला गरि देशै भरी ८३८ स्थानमा अनसन बसेका हुन् । शिक्षकहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनसनमा बसेका हुन । त्यस्तै महासंघका केन्द्रीय पदाधिकारीहरु माइतीघरमा अनसन बसेका छन् । करिब तीन हजार शिक्षक रिले अनसनमा सहभागी भएको महासङ्घले जनाएको छ ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताएका छन् । उनले साउन २२ गते सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय भएको बताएका छन् । बालुवाटारमा आयोजना हुने अनसनमा एक हजारभन्दा बढी शिक्षकको सहभागी गराउने सुवेदीले बताएका छन् । त्यसपछि पनि माग सुनुवाई नभए पाचौँ चरणको आन्दोलनमा काठमाडौंको सडकमा सम्पुर्ण शिक्षक आउने र माग सम्बोधन गर्न बाध्य पर्ने बताइएको छ ।
महासङ्घले गत वैशाखमा तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको थियो । सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिड विरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग छन् ।
मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।