काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेल र नेता माधवकुमार नेपालबीच नेपाल निवास कोटेश्वरमा वार्ता भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गर्नुभएको बताइएको छ । यसअघि बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेर पार्टी एकताका लागि आग्रह गर्नुभएको थियो ।
गत २७ असारमा दशबुँदे सहमति कार्यदलमार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच औपचारिक वार्ता गराउन नेताहरु लागिपरेका छन् । तर नेता नेपालका अनेक शर्तका कारण पार्टीलाई एकढिक्का बनाउन सकिरहेको अवस्था छैन । नेता नेपालका शर्तमाथिका शर्तका कारण नेपालपक्षीय नेता तथा सांसदहरु रुष्ट बन्दै गएका छन् । यसले गर्दा नेता नेपाल एक्लै पर्ने सम्भावना पनि त्यत्तिकै बलियो बन्दै गएको छ ।
यता एमाले अध्यक्ष ओलीले शनिबारसम्म पार्टीको विवादलाई टुंगोमा पु-याउन दोस्रो तहका नेताहरुलाई निर्देशन दिइसक्नुभएको छ ।