काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नाममा राष्ट्रलाई अहित हुने गरी गोप्य सम्झौता भएको हुन सक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेता रावलले संसदलाई थाहै नदिइ गोप्य सम्झौता भएको हुनसक्ने आशंका गर्दै संसद छलेर गरिएका त्यस्ता गतिविधि मान्य नहुने बताउनुभयो ।
नेता रावलले यसअघि भएका सबै सम्झौता संसदमा सार्वजनिक गरेर मात्रै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने अडान राख्नुभएको छ । ‘एमसीसीका सबै कागजात सार्वजनिक गरिएको छैन’, उहाँले भन्नुभयो ‘यदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौताका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ ।’
नेता रावलले सम्झौताको प्रत्येक दफा अध्ययन गर्दा गम्भीर प्रश्न उठ्ने ठाउँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालले कुनै पनि शक्तिको राजनीतिक र सैन्य गतिविधिमा सहभागी हुन नसक्ने असंलग्न नीति लिएको छ। त्यही कारण इन्डो प्यासिसिफिक सैन्य रणनीतिसँग जोडिएको एमसीसीलाई स्वीकार गर्न सकिँदैन।,
नेता रावलले एमसीसीका कतिपय प्रावधान, नेपालको कानुन र संविधानसँग बाझिने बताउनुभयो । नेपाली जनताका सार्वभौम अधिकारमाथि कुठाराघात गर्ने कुरा कहिल्यै स्वीकार्न नसकिने उहाँले बताउनुभयो ।