काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारबाट स्वीकृत भई लागु भएको नेपाली सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत यही २०७८ श्रावण ०१ गतेबाट संचालनमा आएका कमाण्ड हेडक्वाटरहरुको निरीक्षण भ्रमण गर्नु भएको छ ।
साउन ७ गते पूर्वी कमाण्ड हेडक्वाटर कार्यालय हिलेको भ्रमण गर्नु भएका सेनापतिले १० गते मध्य कमाण्ड हेडक्वाटर कार्यालय पोखराको अवलोकन गर्नु भएको थियो । त्यस्तै १२ गते उपत्यका कमाण्ड हेडक्वारटर कार्यालय नारायणहिटी र १४ गते पश्चिम कमाण्ड हेडक्वारटर कर्यालय सुर्खेतको भ्रमण गर्नु भएको बताइएको छ ।
भ्रमणका क्रममा श्रावण ०७ गते प्रधान सेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेख समेत अनावरण गर्नु भएको थियो ।
साथै, उक्त भ्रमणको दौरान उहाँले कमाण्ड हेडक्वाटर कार्यालयहरुमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरुसँगको समन्वयको व्यवस्था, विद्यमान चूनौती तथा समाधानका उपायहरु सम्बन्धि जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको बताइएकोछ ।