एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भयानक सवारी दुर्घटनामा परी आठजनाको मृत्यु भएको छ। द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो।
आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन् । सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन्।
मृत्यु हुनेमा बालबालिका पनि छन् । मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परी अरू १० जना मानिस घाइते भएका छन्। उनीहरूले एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।