काठमाडौं । अर्थविद् डा. गोविन्दबहादुर थापाको निधनप्रति काठमाडौं पुरानोवानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । कलेजका संस्थापक अध्यक्ष प्रा. रामप्रसाद दाहालले एक शोक वक्तव्य जारी गर्दै थापाको दुःखद् निधनले राष्ट्रको लागि अपूरणीय क्षति पुगेको बताउनु भएको छ ।
कलेजका उपाध्यक्ष समेत रहेका डा. थापासंग विगत लामो समयदेखि संगै विचार विमर्श गरेर सुखदुःखको सहयात्रीभइ हिडेको यो कलेजको आगनी आज शून्य भएको र हामी अत्यान्तै मर्माहित र दुखित भएको अध्यक्ष दाहालले जनाउनु भएको छ । साथै डा. थापाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको कलेजका अध्यक्ष प्रा. दाहालले जनाउनु भएको छ ।
अर्थविद् एवं नेकपा (एमाले) अर्थ विभागका सचिव डा. थापाको निमोनिया र फोक्सोको इन्फेक्सनका कारण आज बिहान गंगालाल हृदयरोग केन्द्र, काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।
परिवारका अनुसार कोरोना संक्रमण देखिएपछि एक महिनाअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । तीन साताअघि कोरोनामुक्त हुनुभएका थापालाई निमोनिया र फोक्सोको इन्फेसन भएपछि पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
परिवर्तनका लागि निकै अग्रसर सरकारी वित्त र योजनाविज्ञ थापा पछिल्लो समय पार्टी एकताका पक्षमा हुनुहुन्थ्यो ।
पोखरा –८ नयाँबजारका स्थायी बासिन्दा र हाल काठमाडौंको बसुन्धरामा बस्दै आउनुभएका थापाका श्रीमती, दुई छोरा र एक छोरी छन् । उहाँ विसं २०५१ मा एमालेको नौमहिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । पछि एमाले अर्थ तथा योजना विभाग सचिव भएर उहाँले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहिसक्नुभएका डा थापाले अर्थ मन्त्रालयमा पटकपटक गरी छ वर्ष वरिष्ठ आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

























